

हिन्दु सम्राट सेनाले विरोध गरेपछि धकेलाधकेल, सांसद साम्पाङ दर्शन नगरी फर्किए

जनकपुरधाम : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा दर्शनका लागि पुगेका बेला विवाद उत्पन्न भएको छ। मन्दिर प्रवेश गर्ने क्रममा आफूलाई हिन्दु सम्राट सेना बताउने समूहले साम्पाङको विरोध गरेपछि केहीबेर मन्दिर परिसर तनावग्रस्त बनेको थियो।
प्रत्यक्षदर्शीका अनुसार साम्पाङ मन्दिर प्रवेश गर्न खोज्दा उक्त समूहले उनलाई रोक्ने प्रयास गरेको थियो। साम्पाङले विगतमा क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लगाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर प्रवेशको विरोध गरेका थिए। त्यसक्रममा दुवै पक्षबीच भनाभन हुँदै धकेलाधकेलसमेत भएको थियो।
स्थिति तनावपूर्ण बनेपछि नेपाल प्रहरीले तत्काल हस्तक्षेप गर्दै सुरक्षा व्यवस्था कडा बनाएको थियो। सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीले साम्पाङलाई सुरक्षा घेरामा राखेका थिए। विवाद थप चर्किन सक्ने अवस्था देखिएपछि साम्पाङले जानकी मन्दिरमा दर्शन नगरी त्यहाँबाट फर्किएको जनाइएको छ।
घटनापछि मन्दिर परिसरमा केही समय सुरक्षा सतर्कता बढाइएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस विषयले व्यापक चर्चा पाएको छ। सामाजिक सञ्जालमा घटनालाई लिएर पक्ष–विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
घटनापछि सांसद हर्क साम्पाङले आफ्नो फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै आफू दर्शनका लागि जानकी मन्दिर पुगेको उल्लेख गरेका छन्। उनले गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको भन्दै टिप्पणीसमेत गरेका छन्।

