
वराहक्षेत्र–८, बाघझोरा
सुनसरीको वराहक्षेत्र नगरपालिका–८ स्थित कोशी माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न अभिभावक भेलाले शिक्षक–अभिभावक सङ्घका सात सदस्य सर्वसम्मत रूपमा चयन गरेको छ। अध्यक्ष पदमा भने सहमति जुट्न नसकेपछि पहिलो बैठकबाट अध्यक्ष चयन गर्ने निर्णय गरिएको छ।

भेलाबाट मीना बस्नेत, शोभा पौडेल, पवित्र दियाली, अनिल ठाकुर, रुनी चौधरी, सङ्गीता बस्नेत र स्यामप्रसाद दाहाल सदस्यमा सर्वसम्मत चयन भएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का अध्यक्ष रोशन खड्का रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सुरेन्द्रकुमार राई ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक बालकृष्ण बोहोरा ले गर्नुभएको थियो।
व्यवस्थापन समितिको अध्यक्ष पनि अझै चयन हुन सकेन
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद पनि हाल रिक्त रहेको छ। संघीय सरकारको व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समितिका निर्वाचित चार सदस्यमध्येबाट मात्रै अध्यक्ष चयन गर्न मिल्ने व्यवस्था लागू भएपछि मनोनीत सदस्य अध्यक्ष बन्ने व्यवस्था समाप्त भएको थियो। त्यससँगै कोशी माध्यमिक विद्यालयका तत्कालीन मनोनीत अध्यक्षको पद पनि स्वतः समाप्त भएको थियो।
तर उक्त व्यवस्था लागू भएको लामो समय बितिसक्दा पनि व्यवस्थापन समितिका निर्वाचित चार सदस्यमध्येबाट अध्यक्ष चयन हुन सकेको छैन। चारजना सदस्यमध्ये कोही पनि काबिल नभएको की व्यवस्थापन समितिको अध्यक्ष बन्न इच्छुक नरहेको कि यहाँ पनि राजनीतिक चलखेल?? भन्ने प्रश्न उठेको छ । हाल व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सुरेन्द्रकुमार राई ले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ।
विद्यालयका नीति, योजना तथा विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन व्यवस्थापन समितिको अध्यक्ष यथाशीघ्र चयन हुनुपर्ने आवाज अभिभावक तथा सरोकारवालाबाट उठ्दै आएको छ।
सदस्य चयनअघि उम्मेदवारीलाई लिएर विवाद
सदस्य चयनअघि बाघझोडा निवासी दिनेश गाउँले ले पनि सदस्यमा उम्मेदवारी दिनुभएको थियो। त्यसक्रममा वडा अध्यक्ष रोशन खड्का ले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो। आवश्यक सदस्य संख्या नपुगेपछि मात्रै अन्य व्यक्तिलाई समावेश गर्न सकिने उहाँको भनाइ थियो।
जवाफमा दिनेश गाउँलेले आफू विद्यालयमा अध्ययनरत दुई विद्यार्थीको जैविक अभिभावक नभए पनि दुई जना विद्यार्थीको अध्ययनको जिम्मेवारी लिएको, अभिभावकत्व ग्रहण गरेको,, विद्यालयको हक–हित र शिक्षा सुधारका विषयमा निरन्तर सक्रिय रहेको तथा नियमले रोक नलगाएको अनुमति दिएको अवस्थामा आफू सदस्य बन्न योग्य रहेको धारणा राख्नुभयो।
गाउँलेले विद्यालयमा विद्यार्थी आन्दोलन हुँदा सक्रिय भूमिका खेलेको, विद्यालयको पक्षमा निरन्तर आवाज उठाएको, आफ्नी छोरीको जन्मदिनका अवसरमा ‘विद्यार्थी सहायता कोष’ स्थापना गरी आर्थिक सहयोग गरेको, विद्यालय सरसफाइ अभियान सञ्चालन गरेको तथा शिक्षा सुधारका योजनासहित आफू सदस्य बन्न चाहेको बताउनुभयो। दिनेश गाउँलेका २ जना भतिजहरू कोशी मविमा अध्ययन गर्छन । दाजुको निधनपछि लिखित रूपमै दिनेश गाउँलेले स्कुललाई आफूले अभिभावकत्व ग्रहण गरेको जानकारी गराएका थिए । दिनेश गाउँलेमाथि प्रश्न गर्दैगर्दा छोरीका छोराछोरी यानी नातिनातिना अध्ययन गर्दै आएका श्याम प्रसाद दाहाल सदस्यमा सर्वसम्मत चयन हुँदै अध्यक्षको उम्मेदवारी हुँदै गर्दा उनी माथि किन प्रश्न उठेन अर्को प्रश्न उब्जिएको छ ।
अभिभावक नभएको भन्दै प्रश्न उठाउनेहरूले आफ्ना छोराछोरी कुन विद्यालयमा अध्ययनरत छन् भन्ने विषयमा पनि आत्ममूल्याङ्कन किन गरिएन भन्ने प्रश्न उब्जिएको छ।
उम्मेदवारी फिर्ता गर्दै अनिल ठाकुरलाई समर्थन
एउटै गाउँबाट दुई जना सदस्य हुने अवस्था बनेपछि दिनेश गाउँले र अनिल ठाकुर बीच छलफल भएको थियो।
छलफलका क्रममा गाउँलेले विद्यालय परिसरभित्र तथा बाहिर रहेका झाडी–घाँसको सरसफाइ अभियान अनिल ठाकुरको नेतृत्वमा सञ्चालन गर्नुपर्ने, विद्यालय सुधारका योजनासहित सक्रिय रूपमा काम गर्नुपर्ने प्रस्ताव राख्नुभयो। त्यसपछि उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अनिल ठाकुरलाई समर्थन गर्नुभएको थियो। त्यससँगै सातै सदस्य सर्वसम्मत रूपमा चयन भएका थिए।
अध्यक्षमा सहमति जुटेन, मतदान पनि भएन
सदस्य चयन सम्पन्न भएपछि शिक्षक–अभिभावक सङ्घको अध्यक्ष पदका लागि दुई पुरुष र एक महिलासहित तीन जनाले आकांक्षा व्यक्त गरेका थिए। आपसी सहमति हुन नसकेपछि मतदान गर्ने तयारी भए पनि अन्तिम समयमा मतदान प्रक्रिया रोकिएको थियो।
कार्यक्रममा उपस्थित अधिकांश अभिभावकले विद्यालयका दुई प्रमुख संरचना विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक सङ्घ मध्ये कम्तीमा एउटा समितिको नेतृत्व महिलाले गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूको भनाइमा हाल व्यवस्थापन समितिमा ज्येष्ठ सदस्यले अध्यक्षताको जिम्मेवारी सम्हालिरहे पनि कानुनी व्यवस्थाअनुसार व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित चार सदस्यमध्येबाट चयन हुने र त्यसमा पुरुष अध्यक्ष चयन हुने सम्भावना बलियो रहेकाले शिक्षक–अभिभावक सङ्घको अध्यक्ष भने महिलालाई बनाउन उपयुक्त हुने तर्क गरिएको थियो।
उपस्थित धेरै अभिभावकले विद्यालयका दुई समितिमध्ये एकको नेतृत्व महिलाले गर्दा नेतृत्वमा लैङ्गिक सन्तुलन कायम हुने, महिलाको सहभागिता बढ्ने र निर्णय प्रक्रियामा समावेशी अभ्यास स्थापित हुने धारणा राखेका थिए। उनीहरूका अनुसार मतदान भएको खण्डमा महिला उम्मेदवारको पक्षमा बहुमत आउने अवस्था देखिएको थियो।
तर वडा अध्यक्ष रोशन खड्का ले तत्काल मतदान नगराई शिक्षक–अभिभावक सङ्घको पहिलो बैठकबाट अध्यक्ष चयन गर्ने प्रस्ताव राख्नुभएको थियो। त्यसपछि मतदान प्रक्रिया रोकिएको र अध्यक्ष पद पहिलो बैठकबाट चयन गर्ने निर्णय गरिएको हो। मीना बस्नेत ती महिला हुन् एउटा शिक्षक माथि प्रतिशोध साधि विद्यालयको हित विपरीत विद्यार्थीको भविष्य माथि खेलवाड गरेको भन्दै विद्यार्थी र अभिभावकको आन्दोलनमा अग्रपंक्तिमा उभिने महिला अभिभावकमध्ये एक मीना बस्नेत पनि हुन् । यदि मीना बस्नेत जस्ता महिला अभिभावकहरू अगाडि नुहाइदिएका भए विद्यार्थी र अभिभावकको त्यो आन्दोलन छोटो समयमा विद्यालय र विद्यार्थीको हितमा प्रतिशोधको निर्णय फिर्ता हुने नै थिएन ।
मीना बस्नेतको दाबी : ‘मतदान भएको भए म निर्वाचित हुन्थेँ’
अध्यक्ष पदका आकांक्षी मीना बस्नेत ले आफू विगतदेखि विद्यालय, विद्यार्थीको भविष्य र शिक्षा सुधारका विषयमा निरन्तर सक्रिय रहेको बताउनुभयो। विद्यालयका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायमा पटक–पटक आवाज उठाएको, पूर्वप्रधानाध्यापकसँग बहस गरेको तथा नगर प्रमुखको कार्यकक्षसम्म पुगेर विद्यालयका विषयमा प्रश्न उठाएको उल्लेख गर्दै उहाँले अधिकांश अभिभावकको समर्थन आफूलाई रहेको दाबी गर्नुभयो।
बस्नेतले मतदान भएको भए आफू अध्यक्ष मा निर्वाचित हुने विश्वास व्यक्त गर्दै यदि कुनै राजनीतिक प्रभावका आधारमा अध्यक्ष चयन गरिए आफू सदस्य पदमा पनि नरहने बताउनुभयो।
मतदान गराउनुपर्ने माग
कार्यक्रममा सहभागी केही अभिभावक तथा युवाहरूले अध्यक्ष पदको निर्णय सोही दिन मतदानमार्फत टुङ्ग्याउनुपर्ने माग गरेका थिए।
वडा नं. ८ का नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी ख्याम थापा ले पनि अध्यक्षका उम्मेदवारमध्ये जोसुकै निर्वाचित भए पनि स्वीकार्य हुने भएकाले लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान गराएर नेतृत्व चयन गर्नुपर्ने धारणा राख्नुभएको थियो।
यद्यपि अन्ततः अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि शिक्षक–अभिभावक सङ्घको पहिलो बैठकबाट अध्यक्ष चयन गर्ने निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

