Skip to main content

Purbi Aawaj

🗓️ २०८३ भाद्र ११ गते
🗓️ २०८३ भाद्र ११ गते

वराहक्षेत्र नगरपालिकाले भर्खरै थाहा पाउँदैछ कि यो सुविधा पहिलेदेखि नै थियो??पहल की प्रचार

आफ्नो बिरामीको २० प्रतिशत छुटमा उपचार गराएर २४ गते डिस्चार्ज गरी घर ल्याएपछि प्रशंसा र धन्यवादको समाचार बनाउँदै गर्दा बिग्रिएको समाचार ।

सुनिल शर्मालाई उच्च सम्मान गर्दै आफूले भोगेका र जानकारी भएका केही कुराहरू।

निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि बिरामी घटेर व्यापारमा ठूलो असर परेको अवस्थामा डा. सुनिल शर्माको नोबेल अस्पतालले विगतदेखि नै आफ्नो क्षेत्रका नागरिकका लागि उपचारमा छुट दिँदै आएको थियो। यदि कोही उपचार नै गराउन नसक्ने अवस्थाका नागरिक भए पूर्ण निःशुल्क उपचारसमेत अस्पतालले गराउँदै आएको थियो।

पूर्वको निजी क्षेत्रका अस्पतालमा डा. सुनिल शर्मा जस्तो विशाल हृदय भएका अन्य व्यक्ति पाउन कठिन छ। सामाजिक क्षेत्रमा समाजसेवाको कुरा गर्दा उहाँ त्यस्तो व्यक्ति हुनुहुन्छ, जसको नाम नलिई सेवाको अर्थले पूर्णता पाउँदैन।

 

नोबेल अस्पतालमा,, नेपाली कांग्रेसको नेतृत्व रहेका झापा, सुनसरी,मोरङ, उदयपुरलगायत जिल्लाका पालिकाका निम्न आयस्रोत भएका नागरिकलाई सम्बन्धित वडा वा पालिकाको सिफारिसमा २० प्रतिशत उपचार छुट दिँदै आएको रहेछ। यो सुविधा आज वा हिजोबाट सुरु भएको भने होइन, तर धेरैलाई जानकारी नभएको हुन सक्छ।

कुरा एक हप्ता अगाडिको हो। चौदण्डीगढीका आफन्तको उपचारका लागि म नोबेल पुगेँ। निजी अस्पताल महँगो हुने भए तापनि जुन रोगको उपचार तत्काल गराउनुपर्ने बाध्यता थियो। केही छुट पाइन्छ कि भन्ने आशाले प्रशासनमा बुझ्दा नेपाली कांग्रेसको मेयर भएको पालिकाका निम्न आयस्रोत भएका नागरिकका लागि २० प्रतिशत छुट पहिलेदेखि नै रहेको, तर पालिका वा वडा कार्यालयको सिफारिस चाहिने security मार्फत जानकारी पाएँ।

उदयपुरको चौदण्डीगढी पालिका प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित नभए पनि बिरामीको सम्बन्धित वडा अध्यक्ष नेपाली कांग्रेसकै रहेछन्। उहाँसँग सम्पर्क गरेर सिफारिस लिएँ।

अस्पतालको प्रणालीअनुसार नेपाली कांग्रेसले जितेका पालिकामा अस्पतालले नै २० प्रतिशत छुटका लागि सिफारिस गरिदिने प्रतिनिधि तोकेको हुँदो रहेछ। चौदण्डीगढीमा नेपाली कांग्रेसको मेयर नभएका कारण अस्पतालले तोकेको प्रतिनिधि रहेनछ।

त्यसो भए २० प्रतिशत छुटको सुविधा कसरी लिने त? के नेपाली कांग्रेसले जितेको मेयर भएको ठाउँका नागरिकले मात्रै छुट पाउने र अन्य पालिकाका निम्न आयस्रोत भएका जनता चाहिँ उपचारमा वञ्चित हुने हुन् त? मैले प्रश्न गरेँ।

तर २० प्रतिशत छुट लिने अन्य सेवाग्राहीसँग बुझ्दा नेपाली कांग्रेसको मेयर नभए पनि निम्न आयस्रोत भएका विपन्न नागरिकका लागि वडा वा पालिकाको सिफारिसका आधारमा २० प्रतिशत वा त्योभन्दा माथि पनि छुट दिएको पाएँ।

निकै प्रयत्न गरेपछि अस्पताल प्रशासनले उदयपुरमा नेपाली कांग्रेसले जितेको पालिकामा आफ्नो प्रतिनिधि रहेको र उहाँमार्फत वडा अध्यक्षले दिएको सिफारिस अस्पतालको ग्रुपमा पठाइदिनका लागि कुरा गर्नुहोस् भन्नुभयो। अस्पतालले तोकेको प्रतिनिधिको नाम पनि दिनुभयो। उहाँसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेन।

अस्पताल प्रशासनले दिएको पहिलो व्यक्तिसँग सम्पर्क नभएपछि फेरि गुनासो पोखेँ। प्रशासनले अन्य एक जनाको नाम र नम्बर दिनुभयो। म वराहक्षेत्रको मान्छेले उहाँलाई कसरी चिन्ने त? समस्या आफूलाई परेको थियो। फोन गर्दा उहाँले सुरुमा आफू नेटवर्क बाहिर रहेको र अस्पतालको ग्रुपमा नभएको बताउनुभयो।

सम्बन्धित वडाका वडा अध्यक्षलाई फेरि फोन गरेँ। उहाँले छुटको बारेमा आफूलाई समेत जानकारी नभएको र अस्पतालले तोकेको नामको व्यक्तिलाई नचिनेको बताउनुभयो।

त्यसपछि वराहक्षेत्रमा मैले चिनेका नेपाली कांग्रेसका युवा नेता तथा कार्यकर्तासँग नेपाली कांग्रेस उदयपुरका कोही नेताको सम्पर्क नम्बर उपलब्ध गराइदिन आग्रह गरेँ। अस्पतालमा यस किसिमको छुट रहेको र त्यसका लागि सिफारिस गरिदिने व्यक्ति नेपाली कांग्रेसकै हुनुपर्ने बताउँदा सहयोगका लागि प्रयास गर्ने आश्वासन पाएँ, तर रिप्लाई कल भने पाइनँ।

मैले सुनाएको पनि थिएँ—यदि कुनै पालिकाको मेयर नेपाली कांग्रेसको हुनुहुन्छ भने त्यस पालिकाका नागरिकले नोबेल अस्पतालमा उपचारका लागि २० प्रतिशत छुटको सुविधा पाउने रहेछ। त्यसपश्चात् मात्रै वराहक्षेत्रलाई जानकारी भएको हो कि भन्ने प्रश्न उब्जिनु स्वाभाविक नै हो।

सरकारले निजी अस्पताललाई स्वास्थ्य बीमा नदिएपछि व्यापार घट्दै आएको र अर्कोतिर स्थानीय तहको चुनाव नजिकिँदै गर्दा अपनाइएको जुक्ति नहोला भन्ने कुरामा  प्रश्न उब्जिने ठाउँ रहेतापनि तर कतिपय नागरिकलाई छुटको सुविधा थाहा नै थिएन, आज थाहा भएको छ। राम्रो पक्ष यसलाई मान्न सकिन्छ। पहलमा छुट,,प्रचारको मुख!

तर यस किसिमको छुटका लागि ठूला मनका धनी डा. सुनिल शर्माप्रति कृतज्ञता व्यक्त नगरौँ कसरी? यो छुटको सुविधा आजबाट सुरु भएको वा कसैको पहलमा अहिले सुरु भएको भने पक्कै होइन। अस्पतालबाट दिएको छुटको रेकर्ड हेर्दा वा सम्बन्धित संस्थामै बुझ्दा पनि यसको पुष्टि गर्न सकिन्छ।

एउटा व्यापारीले सेवाग्राहीलाई छुट दिँदै आफ्नो बिजनेसलाई अगाडि बढाउने पोलिसी अपनाउँदा यहाँ पार्टीको वा अन्य कसैको नाम जोडिन आवश्यक रहे–नरहेको त्यो आफैंलाई प्रश्न गर्ने कुरा हो। तर सुनिल शर्मा जस्ता उदार मन भएका मानिस अन्य पार्टीमा वा समाजमा पनि हुनु आवश्यक छ।

२० प्रतिशत छुटकै लागि करिब ४ घण्टा अस्पताल प्रशासन धाउँदै, फोन गर्दै र अनुरोध गर्दै बित्यो। समयमै डाक्टरको शुल्क तथा अप्रेसनको प्रक्रिया अगाडि नबढे त्यो दिनको अप्रेसन नै रोकिने अवस्था बनिसकेको थियो।

२० प्रतिशत छुट पाउने आशाका साथ प्रशासनभित्र रहँदै गर्दा त्यहाँ कोही एक व्यक्तिले प्रदेश सांसद रामकुमार खत्रीलाई जानकारी गराउनुस्, उहाँले अस्पताललाई भनिदिनुहुन्छ भनेपछि आफूले सांसदलाई नचिनेको हुँदा सो कुरा उदयपुर चौदण्डीगढीका बिरामीका सम्बन्धित वडा अध्यक्षलाई राखेँ। उहाँले आफूले पनि ती सांसदलाई नचिनेको बताउनुभयो।

अन्ततः प्रशासनले नै सहयोग गरेर अस्पतालले तोकेको उदयपुरका अन्य प्रतिनिधिसँग सम्पर्क गराइदिएपछि वडा अध्यक्षले दिएको सिफारिस अस्पतालको ग्रुपमा पठाइयो र बल्ल २० प्रतिशत छुट स्वीकृत भयो।

औषधिमा ढाड सेकियो डाक्टरले लेखिदिएको औषधि अस्पतालभित्रकै फार्मेसीमा किन्नुपर्ने बाध्यता भयो। मैले औषधि अस्पतालभित्रकै फार्मेसीमा किनेँ। कम्प्युटर प्रिन्टेड बिल दिनुभयो—रु. ७,३०० को।

मलाई शंका लागेर त्यही औषधि अस्पतालबाहिरको फार्मेसीमा सोध्दा रु. ५,९०० मै पाइयो, त्यसमाथि १३ प्रतिशत छुटसमेत दिइयो।

अर्थात् अस्पतालभित्रकै फार्मेसीमा करिब रु. १,४०० बढी पर्ने रहेछ। अस्पतालको फार्मेसीमा छुट माग्दा भने छुट दिन नसकिने जवाफ आयो।

 

एकतिरबाट छुटको आशा देखाउँदै गर्दा अर्कोतिरबाट महँगो मूल्यमा औषधि बेच्ने काम चाहिँ कसरी भयो??

जुन रोगको अप्रेसन गर्न विराटनगरकै कोशी अस्पताल (सरकारी अस्पताल) मा ५ देखि १० हजार रुपैयाँ मात्रै लाग्ने, त्यही अप्रेसनका लागि निजी अस्पतालमा उपचार राम्रो र छिटो हुने भएकै कारण ४० हजार रुपैयाँ डाक्टरको चार्ज तिर्नुपर्ने अवस्था छ। त्यसबाहेक ब्लड, पिसाब तथा अन्य चेकअपका लागि करिब १० हजार रुपैयाँ थप खर्च हुन्छ। सामान्य परिवारका लागि यो सानो रकम होइन।

 

अझ ४० हजार रुपैयाँको अप्रेसन शुल्कमा २० प्रतिशत छुट पाए पनि, अप्रेसनअघि गर्नुपर्ने विभिन्न चेकअपका लागि करिब १० हजार रुपैयाँ छुट्टै तिर्नुपर्ने र औषधिमा अस्पतालभित्रैबाट करिब १,४०० रुपैयाँ बढी पर्ने अवस्था भए त्यसलाई वास्तविक रूपमा कति राहत मान्ने?

 

यदि साँच्चिकै गरिब तथा निम्न आयस्रोत भएका नागरिकका लागि राहत दिने उद्देश्यले छुट दिइएको हो भने ४० हजार रुपैयाँको अप्रेसन शुल्कभित्र अप्रेसनका लागि आवश्यक पर्ने सम्पूर्ण चेकअपसमेत समेटेर त्यसमा २० प्रतिशत छुट दिइएको भए विपन्न नागरिकले वास्तविक राहत पाएको महसुस गर्ने थिए।

 

जुन अप्रेसन सरकारी अस्पतालमा ५ देखि १० हजार रुपैयाँमै हुने अवस्था छ, त्यही अप्रेसन निजी अस्पतालमा ४० हजार रुपैयाँ लाग्छ। त्यसमा २० प्रतिशत छुट दिँदैमा गरिब नागरिकले कति ठूलो राहत पाएको महसुस गर्लान्? यो प्रश्न सम्बन्धित पक्षले पनि सोच्नुपर्ने होइन र?

 

छुट दिनु सकारात्मक कुरा हो। डा. सुनिल शर्माले विगतदेखि नै यस्तो सुविधा दिँदै आउनुभएको छ भने त्यसका लागि उहाँप्रति सम्मान र कृतज्ञता रहन्छ। तर छुटको नाममा सेवाग्राहीले वास्तविक राहत पाएको महसुस गर्ने गरी उपचार शुल्क, आवश्यक चेकअप र औषधिको मूल्यसमेत पारदर्शी तथा उचित हुनुपर्छ।

 

किनभने गरिबका लागि दिइएको छुट त्यतिबेला मात्रै वास्तविक राहत बन्छ, जब छुट पाएको रकमभन्दा अन्य शीर्षकमा थप भार पर्ने अवस्था हुँदैन।

आम सर्वसाधारणलाई थाहा नहुनु एउटा कुरा हो तर हस्पिटलले पहिला बाटै दिएको छुट पहल की प्रचार आफैंमा उब्जिएको प्रश्न भने पक्कै हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.